
एक नवीन आध्यात्मिक विचारधारा “भगवती मानव कल्याण संगठन”
भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसमा हजारौँ मानिसहरूको संलग्नता रहेको छ । माता भगवती आदिशक्ति जगतजननी जगदम्बासँग पूर्ण एकाकार ब्रम्हऋषि परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा समाजलाई माता भगवतीको साधना–आराधना गराउँदै भक्ति, ज्ञान एवम् आत्मशक्तिले परिपूर्ण, नशा–मांशाहार तथा भय, भोक र भ्रष्टाचारबाट मुक्त चरित्रवान्, चेतनावान् समाजको निर्माण गर्दै धर्म रक्षा, राष्ट्र रक्षा एवम् मानवताको सेवाको कर्तव्यबोध गराउन भगवती मानव कल्याण संगठनको गठन गरिएको छ ।
परमपूज्य सद्गुरुदेव परमहंस योगीराज श्री शक्तिपुत्र जी महाराजले सन् १९९७ मा भगवती मानव कल्याण संगठनको गठन गर्नुभएको हो ।
वि.सं.२०६८ साल श्रावण ३२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको यस संगठनले पछिल्लो १७ बर्ष अघिदेखि नै समाज कल्याणका लागि निरन्तर रुपमा योग, ध्यान, साधना, वृक्षरोपण, नशामुक्ति अभियानको नारासहितका पदयात्रा, सामाजिक सचेतनाका कार्यक्रमजस्ता अनेक कार्यहरू निःशुल्क रुपमा गर्दै आएको छ । यस्तै समाजमा व्याप्त धार्मिक आडम्बर र सामाजिक कु–संस्कार विरुद्ध जनचेतना फैलाउँदै जातिभेद, छुवाछुत, बलिप्रथा, दाइजोप्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहीनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मूल सनातन संस्कृति, ऋषिकालीन परम्परासँग जोड्दै चेतनावान्, कर्मवान्, सामर्थवान्, आत्मवान्, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्णआध्यात्मिक समाज निर्माण हेतु यो संगठन सतत् सक्रिय रहेको छ ।
‘नशामुक्त नेपाल, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ संगठनले समाजमा जनचेतना फैलाउँदै हजारौं व्यक्तिहरूलाई नशामुक्त गराइसकेको छ । नशाको कुलतबाट ग्रसित व्यक्तिहरूमा आध्यात्मिक चेतना जगाउँदै सुधारको मार्गमा अग्रसर गराउन संगठनले कार्य गर्दै आएको छ । प्राचीन ऋषिमुनिहरूद्वारा प्रतिपादित योग, ध्यान, प्राणायाम, मन्त्रजप, अष्टांग योग लगायत नवधा भक्तिका क्रमहरू अपनाउँदै मानव जीवनको मूल्य मान्यता स्थापित गराउन संगठनले कार्य गर्दैआएको छ ।सिद्धाश्रम सिरमौर युग चेतनापुरुष परमहंस योगिराज, श्री शक्तिपुत्रजी महाराजको आशीर्वाद एवम् मार्गदर्शनमा चलिरहेको यस संस्थाले तन्त्र–मन्त्र, योग, हठयोग, क्रियायोग, यज्ञ, अनुष्ठान, ज्योतिष आदि ऋषिकालीन गूढ एवम् रहस्यमयी परम्परालाई जगेर्ना गर्दै तिनको वैज्ञानिकतालाई पुनर्स्थापना गर्दै विविध क्षेत्रमा निरन्तर काम गरिरहेको छ ।